फाट्टफुट्ट एकदुइटा स्ट्याटस बाहेक अरु केही नलेखेको एक युग भैसकेछ। हुनत खासै लेखीराख्ने मान्छे होइन म। तर आज, नयनराज पाण्डे द्वारा लिखित बहुचर्चित उपन्यास उलारले लेख्नैपर्ने अवस्थामा पुर्याइदियो।
सन् 2007 तिरको कुरा हो। कलेजका साथीहरुसंग नाटक हेर्न गुरुकुल पुगेको थिएं। मैले कुनै नाटकघरमा प्रवेश गरेको यो पहिलो पटक थियो। तर दुर्भाग्यवश प्राविधिक गडबडीका कारण त्यस दिन नाटक मञ्चन हुन सकेन। कलाकारहरूले निकै दुःख प्रकट गर्नुभयो र दर्शकहरु समक्ष क्षमायाचना गर्नुभयो। अर्को पटक आउने बाचा सहित हामी त्यहाँबाट निस्कियौँ। तर यत्तिका वर्ष बितीसक्दा पनि नाटक हेर्न जाने अवसर कहिले जुरेन। अथवा भनौँ, व्यस्तताका कारण यस तर्फ खासै ध्यान दिइएन। तर मनमा सँधै एउटा खालीपन भने थियो नै। मञ्च अगाडी बसेर नाटक हेर्नुको अनुभव कस्तो हुन्छ थाहै थिएन।
१५ वर्ष पश्चात, अहिले आएर, कौसि नाटकघरमा मञ्चन भैरहेको उलार हेर्न जाने निश्चय गरें। साथी पुस्पालाई हेर्न जाने? भनेर सोधें। पुस्पा कला प्रेमी हो। नाईं भन्ने कुरै थिएन। त्यसमाथी मैले उलारका बारेमा सँधै गरीरहने बखान, बेलाबेला उसलाई सुनाईरहने नेपालगञ्जिया लबज आदि इत्यादिले नतानोस पनि त कसरी। जे होस, हमी कौसी नाटकघर जाने भयौँ। पानी परिरहेको थियो। म जाँदा जाँदै निथ्रुक्क भिजीसकेको थिएँ।पुस्पा पहिले नै पुगीसकेकी थिइन। मैले ज्याकेटको खल्तीबाट झिकेर एक बिडा मिठा पान पुस्पालाई दिएं। तराईको नाटक, दर्शकको मुखमा पान त हुनै पर्यो नि। तर पान बनाउने दिदीले डुबाई दिनुभएछ। अत्याधिक मात्रामा चूना लगाई दिनुभएछ। दुबै जनाको मुख पाच्छिएर बर्बादै भएछ। कस्तो नमिठो पान भन्दै हामी नाटकघर भित्र पस्यौँ। अनि शुरु भयो उलारको मञ्चन।
नाटकको पहिलो दृश्यमै देखियो पान पसल अनि त्यसको वरीपरी नाराबाजी गरीरहेका कलाकारहरु। म त्यस हुलमा खोइ प्रेमललवा कुन हो? दरौपदी कुन हो? ननकऊ कुन हो भनि चिन्न खोज्दै थिएँ। कलाकारहरु टुटेफुटेको नेपालगञ्जिया लबज बोल्न सङघर्ष गर्दै थिए। पुस्पाले खुसुक्क कानमा सोधिन, "कुन भाषा हो यो?" मैले कुनै जवाफ नै दिन सकेन। शुरुमा मलाई आफैँ भाषा बुझ्न गाह्रो भयो। कसैले बिहारी बोल्दै थिए, कसैले कुन्नी कता तिरको भाषा बोल्दै थिए। उपन्यासमा कतिपय ठाउँमा अश्लील शब्द र गाली गलौज को प्रयोग छ। नाटकमा कता कता यसको अनावश्यक रूपमा अत्यधिक प्रयोग भएको जस्तो लाग्यो। नेपालगञ्जिया भाषाको मौलिकता गाली गलौजको सङ्गालो मात्र होइन। वास्तवमा मलाई उपन्यास उलार मन पर्नुको पहिलो कारण नै यसको भाषा हो। मैले नेपालगञ्जिया भाषा नयनराज पाण्डेका किताबहरु बाहेक अरु कुनै किताबमा पढेको छैन। यो नाटक भन्दा पहिले उलारको रेडियो वाचन सुनेको थिएँ। त्यसमा पनि यही समस्या थियो। भाषा नै नमिलेको। भाषा नमिलेपछि एत्तिकै मेरो मन खिन्न हुन्छ। तर कौसिले गरेको उलारको मञ्चनमा भाषा बाहेक अरु धेरै कुराहरु थिए जसले मलाई उलारको गहिराईमा पुगाई छोड्यो।
अवश्यपनि १.५ घण्टाको नाटकमा उपन्यासका सबै कुरा समावेश गर्न सकिँदैन। तर निर्देशकले उपन्यासको सारांशलाई निकै कलात्मक ढङ्गले प्रतीकीकरण गरेका छन। उलारका पात्रहरुको संवाद जसरी उपन्यासमा मन भित्रै पर्नेगरी लेखिएको छ, नाटकले त्यसलाई छुटाएको छैन। उपन्यासको मूल कथाबाट निर्देशक रत्तिभरपनि भट्किएका छैनन। दरौपदीको भूमिका निष्ठापूर्ण छ। ननकऊले बोलेको नेपालगञ्जिया लबज अरु सबै कलाकारको भन्दा उत्कृष्ट छ। दरौपदीले आफ्नो कानको सुन प्रेमललवालाई दिएको दृष्य हेर्दा मेरो रौं नै ठाडो भएको थियो। मुखबाट उच्छ्वास निस्केको थियो। पुस्पाले खुसुक्क सोधेकी थियिन, तिमी इमोश्नल भाको त हैन नि? प्रेमललवा काठमाडौं पुगेर चिया पसलको दाईलाई पुलचोक कता छ भन्ने प्रश्न सोध्दाको जवाफ सुन्दा जसरी उपन्यास पढ्दा हाँसेको थिएँ त्यसरी नै हाँस्न मन लागेको थियो।"नाईँ त ���े तेल लगाएर लिन्छस?" सुन्दा कता कता नेपालगञ्ज नै पुगेको जस्तो लागेको थियो। बसन्तीको मृत्यूको दृश्यले मनै विचलित पारीदिएको थियो। राजिन्दर बाबू, शान्तीराजाको पात्रले सिधै नेपालगञ्जका कुशासकहरुको झल्को ल्याइदिएको थियो।
नाटक हेर्न करीब १५-२० जना दर्शक आएका थिए। म मनमनै सोँच्दै थिएँ, जेहोस मान्छेहरु आउने रहेछन तर थोरै आउने रहेछन। पाण्डेले उलार करीब २५ वर्ष पहिले लेख्नुभएको थियो। तर यत्तिका वर्षपछि पनि मञ्चमा यो नाटक हेर्दा देशको परिवेष खासै बदलिएको छ जस्तो लाग्दैन। राजनीतिका नाममा उही फोहोरी खेल। गरीबहरुको अवस्था देशमा अहिले पनि उस्तै छ।सीमान्त तहका जनता कसरी पछाडी पछाडी धकेलिंदै जान्छन भन्ने कुरालाई जसरी उपन्यासले दर्षाएको छ, त्यसरी नै निर्देशकले यसलाई मञ्चमा उतारी दिएका छन। प्रेमललवाको त्यो कहिले नसक्किने दौडले हाम्रो समाजको कटु यथार्थलाई पीडा हुनेगरी झल्काइदिएको छ। नाटकमा प्रयोग गरिएका संगीत पनि उत्तिकै प्रतीकात्मक छन। "हर रात सपनीमा ऐंठन हुन्छ" कलाकारहरुले एकैसाथ गाउँदा मन भावुक हुन्छ। अन्त्यमा सबै कलाकारले फ़ैज़ अहमद फ़ैज़को "हम देखेंगे" गीत गाउँदा सङ्गसङ्गै मैले पनि गाईदिउँ की जस्तो भएको थियो।
समग्रमा भन्दा, उलारको नाटक मञ्चन हेर्न गएर राम्रो काम गरिएछ जस्तो लाग्यो। सबै कलाकारहरु र निर्देशकले उलारलाई न्यायोचित ढङ्गले मञ्चमा प्रस्तुत गरेका छन। कौसी नाटकघर र कथा घेराका सम्पूर्ण सदस्यलाई हार्दिक नमन र धन्यवाद। भविष्यमा नाटक हेर्न फेरी पनि अवश्य जानेछु।
२०१६ मा। दुई वर्ष पहिले, बच्चाहरू संग सम्बन्धित एउटा डिजाइन प्रोजेक्ट लिएको थिएं। दशैं आउन केही महिना बाँकी नै थियो। मलाई चङ्गामा क्लाइन्टको टेक्स्ट डिजाइन गर्नुपर्ने थियो। यो डिजाइन करीब ५००० चङ्गामा प्रिन्ट गरेर बच्चाहरूलाई उपहार दिने कार्यक्रम थियो।
बच्चाहरू! चङ्गा! दशैं! आहा! रमाइलो काम।
बच्चाहरू संग सम्बन्धित भएकाले अक्षरहरू चकले लेख्ने सोँच बनाएं। चकले ब्ल्याकबोर्डमा लेखेर त्यसैलाई प्रयोग गर्ने सोंच आएको थियो तर कतिपय कुराहरूले सम्भव नहोला जस्तो लागेर डिजिटल क्यालिग्राफी नै गर्ने निधो गरें। एडोब इलस्ट्रेटरमा चक ब्रश उपलब्ध थियो।
केही फरक र अली चाख लाग्दो बनाउन खोज्दै जाँदा यस्तो भयो
तर दुर्भाग्यवश क्लाइन्टलाई चित्त बुझेन। क्लासिकल क्यालिग्राफी जस्तै अक्षरहरु बनाउनुपर्ने भयो। र यो बनाएं
तर मलाई अझै पनि मैले लेखेको पुरानै अक्षर मन परीरहेको थियो। मैले त्यसमा काम पनि धेरै गरेको थिएं।
यी अक्षरहरूलाई एत्तिकै बिर्सिन मन लागेन। मेरो पहिलो नेपाली फण्ट यसैलाई बनाउन मन लाग्यो। अब लेख्नु थियो। परिक्षण गर्नु थियो। राम्रो फण्ट कसरी बनाउने सिक्नु थियो। अक्षरहरूमै समय बिताउनु थियो।
फण्ट डिजाईनको खासै राम्रो ज्ञान नभएकाले अक्षरहरू मिलाउन निकै समय लाग्यो। यी अक्षरहरूले मलाई बहुला बनाउन लागीसकेका थिए। मलाई चिन्ने इष्ट मित्र पनि, “कहिले निकाल्ने फण्ट?” भन्दै दिक्क मानी सकेका थिए। जे होस, दुई वर्ष बितीसकेपछी मैले अक्षरहरू केही हद सम्म चित्तबुझ्दो बनाएं।
अब यो फण्टको नामाकरण गर्ने बेला भयो। चक ब्रश प्रयोग गरेर नेपली फण्ट बनाएकोले चकको नेपाली उल्था खरी नै सर्वोत्तम होला जस्तो लाग्यो र यही नाम प्रयोग गरें।
यति सम्म सबै ठिकै थियो। तर कता कता मनमा यो फण्ट एक्लो भएको महसूस भैरहेको थियो। टाइटल र हेडिङका लागि ठिकै देखिए पनि ग्राफिक डिजाईन प्रयोजनकालागि एक्लो फण्ट त्यती राम्रो हुँदैन भन्ने सोंचले दिमागमा ठुलै ठाउँ बनाएपछी खरीको परिवार बनाउन शुरू गरें।
अहिले खरी परिवारका चार सदस्य छन। खरी हेभी, खरी बोल्ड, खरी लाइट र खरी थिन। यी चारै सदस्यको स्वरूप एकअर्का संग मिल्दो जुल्दो छ। यिनीहरुको मोटाई गोल्डेन रेशियोको नियममा आधारित छ।
नेपाली फण्ट खरीका विशेषताहरूः
१) चार फरक मोटाईमा उपलब्ध
२) आधुनिक
३) निःशुल्क
४) ग्राफिक डिजाईन प्रयोजनकालागि
लघु कथा, कविता, साना लेखहरू आदिमा प्रयोग गर्दा नेपाली फण्ट खरी राम्रै दिखिन्छ।
यति हुँदा हुँदै पनि खरी समस्या मुक्त चाहीं छैन। कतिपय ठाउँमा kerning मिलाउनुपर्ने खरीको मुख्य समस्या हो। बच्चाहरूलाई सम्झेर बनाएको फण्ट खासै बच्चा जस्तो छैन। खरी थिन र लाइटमा चकको टेक्सटचर नदेखिने हुनाले नामकै सार्थकता नपाएको जस्तो छ। अनि अरु हजारौं नमिलेका अथवा मलाई थाहा नभएका कुराहरू छन। तर म खुशी छु। शायद मैले बनाउने अर्को फण्टमा यी कुराहरू मिलेर आउँछन होला। आशा छ नेपाली फण्ट खरी प्रयोगमा आउनेछ।
खरी फण्ट बनाउने क्रममा मलाई धेरैजना इष्टमित्रको सहयोग, सुझाव र सद्भाव पनि प्राप्त भयो। म सबै प्रति कृतज्ञ छु।
नेपाली फण्ट खरी यस लिङ्कबाट डाउनलोड गर्न सकिन्छः https://goo.gl/D6uQuU
अक्षरहरू शक्तिशाली हुन्छन। कति शक्तिशाली हुन्छन भन्ने कुराको उदाहरणहरू मध्ये एक लालपुर्जालाई पनि लिन सकिन्छ। लालपुर्जा भित्र लेखिएका फगत केही अक्षरहरूले माटो माथी मानिसको तथाकथित अधिकारक्षेत्रको सुनिश्चितता गर्दछन। अक्षर र कागज मिलेर बनेको लालपुर्जाले शक्ती र अधिकारको कारोबार गर्न थालेपछि द्वन्दको सृजना पनि गर्छ। जग्गाको लागि दाजूभाईको झगडा, बाऊछोराको झगडा, छिमेकी संग झगडा अनि नानाथरीका रमाईला नरमाईला कथाहरू नेपाली समाजमा प्रायः सुन्न पाइन्छन।
मानव सम्बन्ध, जग्गाको अधिकार, द्वन्द, प्रेम यस्तै विषयवस्तु समेटेर नेपाली कथानक चलचित्र लालपुर्जाको निर्माण भएको छ। लालपुर्जाको निर्माण संगै यसभित्र प्रयोग हुने अक्षरहरूको निर्माण पनि आवश्यक नै भयो। केही प्रतिशत अक्षर निर्माणको जिम्मेवारी मकहाँ पनि आयो। प्रस्तुत छ चलचित्र लालपुर्जाका लागि गरिएको अक्षर निर्माणको वृतान्त।
करीब एक वर्ष अगाडी चलचित्रको निर्देशक सङ्ग कथाको विषयवस्तुमा सानो छलफल भएको थियो। जग्गा, दाजुभाईको झगडा, लालपुर्जा इत्यादि सुनेपछी मेरो मस्तिष्कमा स्वाभाविक भएर आएका दृश्यहरू नेपाली कागज, रातो रङ्ग, माटो, काटेको, चुहिएको अनि formal calligraphic strokes हरु नै थिए। Draft version माथी बनाएको जस्तै। केही दिन पछि चलचित्रको draft script मकहाँ आयो। Script संगै चलचित्रको genre आयो। Mystic Drama.
Mystery भित्रिएपछि अक्षरहरू अलि छ्यार-ब्यार बनाउने हो कि भन्ने सोंच आयो। चलचित्रमा बैजनी प्रधान रङ्गहरूको प्रयोग गरिने भएपछि अक्षरहरू पनि बैजनीले रङ्गाउने निधो गरें। पुरानो Flat Brush र खस्रो कागज उठाएं अनि लेख्नथालें छ्यारब्यार लालपुर्जा।
अहँ! चित्त बुझेन।
कसैको पनि।
उता Script पनि विकसित हुँदै थियो। चलचित्रको Genre मा Comedy पनि थप्पियो। Final Draft लगभग २-३ पटक पढें। कथाका पात्रहरू अब दिमाग मा बाँच्न थालीसकेका थिए। मेरो मस्तिष्क भित्रै सबैले आ-आफ्नो आभिनय आफ्नै ढङ्गमा अभ्यास गर्दै थिए। कोही Dialogue Delivery गर्दै थिए, कोही द्वन्द दृश्यको लागि तयार हुँदै थिए। ती मध्ये एक पात्रको Dialogue अलि प्रभावशाली ढङ्गले मस्तिष्कमा असर गर्दै थियो।
“यो गाउँको मान्छेलाई भान्टा भए पुग्छ, अरु केही चाहिँदैन।”
भान्टा!
केही त छ यसमा। सर्वप्रथम त बैजनी छ। मस्तिष्क भित्रका पात्रहरूलाई हेर्छु। कोही भान्टा चपाइरहेछन। कोही भान्टा सुकाइरहेछन। कोहि भान्टा पकाइरहेछन। नानाथरी गरी रहेछन।
भान्टा!
लेख्ने निधो गरें। भान्टा अक्षर बनाउने सोँचें। अनि warm-up sketch शुरू गरें।
Digital sketch पनि शुरू गरें।
मेरो भान्सामा अब तरकारी पनि भान्टा पाक्न थालेको थियो। मैले फोटो पनि भान्टाकै खिच्न थालेको थिएं। वरीपरी भान्टा बाहेक केही देखीरहेको थिईन।
भान्टा Obsession भएछ। भान्टा OCD भएछ।
जे होस। केही समय बित्दा अक्षरहरूको खाका लगभग तयार भैसकेको थियो।
भान्टा अक्षर कस्तो भयो, चलचित्रलाई सुहाउँदो भयो कि भएन, यसले काम गर्ला कि न गर्ला? यो सब समयले बताउनेछ। यो सम्पूर्ण प्रक्रियामा मैले अक्षरका बारेमा सिकेको कुरा, देवनागरी लेख्नलाई आधा घुमेको र सीधा गरी दुइटा मात्र strokes चहाहिन्छन। लालपुर्जाको टाइटलमा जम्मा-जम्मी १९ भान्टा छन। तर दुई थरी मात्र। आधा घुमेको र सीधा।
चलचित्र लालपुर्जा, आउँदो वैशाखमा रिलीज हुने योजना छ। थप जानकारीका लागी तलका लिङ्कहरूमा हेर्न सकिनेछ।